स्थानीय तह निर्वाचन-२०७९ (भोट, चोट र खोट) - Arjun Dev Jnawali

Friday, May 13, 2022

स्थानीय तह निर्वाचन-२०७९ (भोट, चोट र खोट)

आज बैशाख ३० गते शुक्रबार, हातको नङ्गमा सिल्भर नाइट्रेटमा अलिकति अल्कोहल र अन्य रसायन मिसाउन जाने तयारी गर्दै गर्दा ७ बज्यो। खल्तीबाट ६ इन्चको डब्बा झिकेर ३ इन्चको चोर औंला दौडाए, भोट दिने मान्छेको लाइन मस्तै देखे पछि अनलाइन समाचारका पृष्ठ हेर्न थालें। भोट हाल्न शुरु गरेको ढार्इ घण्टा जसो भएको हुंदो हो एक स्थानमा (चंखेली गाउँपालिका-२, हुम्लामा) मतदान अधिकृतलार्इ घाइते हुने गरी कुटेछन्। मतदान अधिकृत कुटिएको यो पहिलो घटना भने थिएन, हिजो राती (बैशाख २९) मा खै कता तिर हो (सायद सुर्खेत) सुरक्षा कमाण्डरले मतदान अधिकृतलार्इ मात्र होइन स्थानीयलार्इ समेत कुटे अरे। हुनत, यो कुट्ने, चुट्ने, फुट्ने, जुट्ने, लुट्ने, छुट्ने, टुट्ने, थुत्‍ने, सुत्‍ने अनि धुत्‍ने क्रियाकलाप निर्वाचनका पर्याय जस्ता भैसकेका जस्तो लाग्छ।


यसपालि कहि सत्ताधारी बीच झडप, कहि सत्तापक्ष-विपक्ष झडप, कहि दलगत-स्वतन्त्र झडप (तनहुँ, व्यास नगरपालिका), आमा-छोराको भोट हाल्ने विषयमा झडप (गोरखा, घ्याल्चोक), कहि लाइन बस्ने विषयमा झडप (चम्पादेवी, ओखलढुंगा), कहि मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवादका कारण झडप (सर्लाहीको धनकौल गाउँपालिका) लगायत थुप्रै संख्या र स्थानमा झडपहरूका घटना घटेकै कारण देशभरमा १७ स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित हुन पुगेछ।

झडपसँगै थुप्रै राउण्ड हवार्इ फायर (दोलखा, सिन्धुपाल्चोक, काभ्रे, बझाङ, उदयपुर, रौतहट, गोरखा लगायत अन्य जिल्लामा) पनि भयो, फायर हुनु पनि निर्वाचनको अर्को विशेषता रहेछ क्यार, माथिका झडप भएको पनि उम्मेद्वार, दल र भोटर फायर भएर हो। व्यक्ति फायर भएपछि सिस्टम बचाउन प्रहरीले फायर गर्दो रहेछ। तर फायर हुनु राम्रो त होइन, व्यक्ति भएपनि राइफल भएपनि। आजै (बैशाख ३०) पनि फायरकै कारण १ स्वयमसेवक गोली लागि घाइते हुन पुगेछन्।

घरदैलो सरकारको चुनावी माहोलको दोस्रो इनिङ्ग विगतको भन्दा उत्साहपूर्ण देख्न भने सकिन्थ्यो। कोही स्टेचरमा, कोही अक्सिजन सिलिण्डरसहित मतदान केन्द्रमा गएका, कोहि बोकिदैं त कोहि ठोकिदैं भोट हाल्न गएका देखिए, कोहि कराएर- कोहि डराएर भोट हाल्न गएका देखिन्थे भने कोहि ढुक्‍क भएर त कोहि भुक्‍का भएर, कोहि रिसाएर त कोहि रिजाएर, कोहि रक्सीले मात्तिदै त कोहि घामले तात्तिदैं भोट हाल्न भएको देख्दा जन उत्साह ब्यापक रुपमा देखें। हुनत जनता उत्साहि नहुन पनि कसरी सदाबहार २५ वर्षे युवक महानायक राजेश दार्इ देखि ११३ वर्षिय हजुरआमाले जो मतदानमा सरिक हुदैं गजबको बाइट दिए। यस्तै, किरियापुत्रीले (मुगुमा ३ जना) पनि आफ्नो मताधिकार बञ्‍चित हुन दिएनन् भने कोहि बाबुको मृत्युको किरिया पनि चुनाव पछि गर्ने भन्‍दै मत माग्न र भोट हाल्न सक्रिय रहे।

चुनावमा देखिने अर्को रोचक प्रसँग हो, चिट। हाम्रा उम्मेद्वार क्लिन चिटधारी हुन भनेर दलहरुले गर्ने रटान, भोट खसाउनु अघि र खसाएपछि मतदातालार्इ खुसी पार्न दिइने खाजा-खाना-तेलको चिट चाहि पुरानै मोडेलका चिट हुन। तर यसपालि फरक ढँगको चिट पनि देखियो, भोट हाल्न लाइनमा बसेका मतदातालार्इ चिट चोराएर भोट हाल्न सिकाएको पनि देखियो (कास्की, चितवन)। अलि पृथक मान्छेको पृथक चिटको रुपमा एकजना पूर्व प्रधानमन्त्री मत सङ्केत सार्वजनिक गर्दै मतदान गरेको कुरा पनि देखियो।

राजनीति खेल हो भन्थे, हो रैछ जस्तो पनि लाग्यो। राजनीति खेल भएपछि राजनीति गर्नेहरु त खेलाडी नै भए, त्यसै भएर हुनुपर्छ मतपेटिकाको भकुण्डो खेलेको (काभ्रे), बाकस उठार्इ-दौडार्इ-पानीमा डुबार्इ, लुकाइ, चङ्गा उडार्इ खेलेको (रौतहट)। चुनाव हुनु अघि आयुक्तले मतपत्र चपाउन नसकिने बनाएको छ भनेर जिकिर गरेकै कारणले हो कि कुन्‍नी त्यसको परिक्षण गरेका केहि ठाँउमा (रौतहट र बझाङको जयपृथ्वी-७)।

आज (बैशाख ३०) निकै गर्मी थियो, विशेषत तरार्इका जिल्लाहरुमा केहि मतदाताहरु लाइनमा बस्दा बस्दै बेहोस पनि भएछन्। चुनावको दिन जनता बेहोस हुनु वा गराइनु, मत परिणाम पछि हार्नेवाला उम्मेद्वार बेहोस हुनु र चुनाव जित्‍ने चाहि होसु हुनु नै हाम्रो दुर्भाग्य हो कि कुन्‍नी? बेहोसकै कुरा गर्दा एक ठाँउमा त मतदान अधिकृत अचानक बेहोस भएपछि मतदान नै ढिला सुरु भएको थियो (नवलपरासी पश्‍चिम)।

केहि स्थानमा उम्मेद्वारलार्इ मतदाताले झापड समेत हानेको खबर पाइयो (धादिङ)। झापड लगाउनु नराम्रो हो, तर त्यहि झापडकै कारण उक्त उम्मेद्वारलार्इ जनप्रेमी र विकास प्रेमी हुने प्रेरणा प्राप्त होस्। जनताका काम गर्न चुनावै जित्‍न पर्छ भन्‍ने छैन् जनताको मन जिते हुन्छ।

स्थानीय तहको दोस्रो चक्रको चुनाव उत्साहपूर्वक नै वितिरहदा स्याङ्गजाको वालिङ्ग-१४ मा भने निकै दुखदायी घटना घट्यो, बृद्ध, बृद्धा र सुत्केरी लिएर मतदान केन्द्र आउदैं गरेको बोलेरो सडकबाट ५०० मिटर तल खस्दा धेरैले ज्यान गुमाउनु पर्यो भने कोहि घाइते भए। मतदान गर्न हिँडेकाहरु मत दिन त पाएनन् नै दुर्घटनामा ज्यानै गुमाउनुपर्‍यो।

जे होस् निर्वाचन जसो तसो सम्पन भयो, निर्वाचन आयोगको प्रारम्भिक जानकारी अनुसार ६४ प्रतिशत मतदान सम्पन्‍न भएको जानकारी पाइयो। यसपालि आयोगको तर्फबाट गर्न सकिने सामान्य देखि महत्वपूर्ण विषयहरु मिलाउन सकेको भए, अझै सभ्य र भव्य हुन्थ्य्यो होला। मतदान केन्द्र तोकिनुमा समस्या (सर्लाही) देखि लिएर मतदाता शिक्षा, जनशक्ति खटनपटन र सामान्य सुरक्षा बन्दोबस्तीमा कुशलता देखाउन नसकेको भान हुन्छ। हुनत, आयोग आफैंले सुरक्षा कमजोरीले दलका प्रतिनिधि अराजक भएको निष्कर्ष निकालेको छ।  यसमा राजनीतिक दलहरुको पनि उत्तिकै कमी कमजोरी देखिन्छ। भोलिका दिनमा हिजोको अनुभव र वर्तमानको भोगार्इ अनुरुपको तयारी र प्राथमिकता भएन भने भोट भन्दा भोक ठुलो हुने बाध्यताका आम नेपाली जनतामा भोट दिए पनि खेर, नदिए पनि खेर भन्‍ने धारणाको विकास नहोला भन्‍न सकिन्‍न।


No comments:

Post a Comment