सलह यात्रा र त्रास - Arjun Dev Jnawali

Monday, July 13, 2020

सलह यात्रा र त्रास

गएको शनिवार दिंउसो देखि पत्र पत्रिका, रेडियो, टेलिभिजन लगायत विभिन्न सामाजिक सञ्जालहरुमा नेपालमा सलह कीराको प्रवेश सम्बन्धी खबरले कोरोनासँग जुधिरहेका हामी सबैलार्इ चिन्तित तुल्यायो। तरार्इका केहि जिल्लाहरुमा शनिबार दिउसों सलह कीरा देखिएसँगै देशका विभिन्न जिल्लाहरुमा यसबारे चासो र चर्चा बढ्न थाल्यो। असार १५, मानो रोपेर मुरी उब्जाउने दिन अर्थात राष्ट्रिय धान दिवसको संघारमा उभिएका आम कृषकहरुलार्इ उक्त खबरले नराम्रोसँग पिरोलेको छ। खासमा नेपालमा सलह कस्तो अवस्थामा प्रवेश गर्यो र के हुन सक्छ त?

धेरै खाले बाली विरुवा तथा वनस्पति खाने खालको यो मरुभूमि सलह कीरा मुख्यत दुर्इ खाले हुन्छन्। एक खाले ठुलो समूह/झुण्डमा बस्ने र अर्को सानो झुण्ड तथा एकल बस्ने। एकल वा सानो झुण्डमा बस्ने सलहको भाले/पोथी दुबै अपरिपक्व अवस्थामा हरियो र परिपक्व हुदैं गर्दा विस्तारै हल्का खैरो रङ्गमा परिणत हुन्छन्। ठुलो समूह/झुण्डमा बस्ने सलहको भाले पहेंलो रङ्गमा हल्का रातो रङ्ग मिसिएका हुन्छन् भने पोथीहरु हल्का खैरो रङ्गका हुन्छन्। सामान्यतयाः सलहको भाले 40-50 मिलिमिटर र पोथी 50-60 मिलिमिटर लम्बार्इका हुन्छन्। एकल वा सानो झुण्डमा बस्ने सलहलार्इ सोलिटरिफर्म सलह भनिन्छ जुन परिपक्व हुनासाथ तितरवितर हुन्छन् भने, ठुलो समूह/झुण्डमा बस्ने सलहलार्इ ग्रेगरिफर्म सलह भनिन्छ जुन झुण्डमा बस्ने र सोलिटरिफर्म भन्दा बढी सक्रिय हुन्छन् र तुलनात्मक रुपमा बालीलार्इ बढी क्षति गर्छन।

 

सलहले पुर्याएको क्षति स्मरण गर्दा सन् 2004/05 मा पश्चिम अफ्रिकामा देखिएको सलहले ठुलो संख्यामा बालानालीमा क्षति पुर्याएको थियो।धेरै खाले बाली विरुवा खाने प्रकृति, ठुलो संख्यामा देखा पर्ने र टाढासम्म उडेर जान सक्ने भएका कारण यसले पुर्याउन सक्ने क्षति गम्भीर खालको हुन्छ। ठुलो समूह/झुण्डमा बस्ने सलहले प्रतिदिन आफ्नो शरीरको तौल बराबर (औषत २ ग्राम) सम्मको हरियो वनस्पति खान सक्छ।नियमित खेत/बारी र बाली विरुवाको निरीक्षण गर्ने, रोकथाम तथा नियन्त्रणका लागि भौतिक, यान्त्रिक, जैविक र रसायनिक विधिहरु आवश्यकता अनुसार एकिकृत रुपमा अवलम्बन गर्नु नै यसबाट बच्ने मुख्य उपाय हो।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको 27 जुलार्इ 2020 को मरुभूमि सलहको अवस्था अपडेट अनुसार इथियोपिया, केन्या, सोमालिया, दक्षिण सुडान लगायतका देशमा गत हप्ता देखि यस प्रकारको सलहको ठुला-ठुला झुण्डहरु देखिएका छन्। उत्तरी सोमालियमा देखिएको सलहको ठुलो झुण्ड यस सिजनमा उपयुक्त प्रजनन् क्षेत्रको खोजीमा पाकिस्तान-भारतको सिमानाका क्षेत्रहरु सम्म थप आउन सक्ने आंकलन छ। गत मे महिनाको पहिलो हप्तामा राजस्थानको जोध्‌पुर आसपास क्षेत्रमा देखा परेको अपरिपक्व सलहको झुण्ड विस्तारै राजस्थान भर फैलिन गयो। त्यस्तै, पाकिस्तानको सिन्ध प्रान्तको इन्दुस् उपत्यका क्षेत्रमा समेत सलहको झुण्डहरु देखिएको छ। मे महिनाको तेस्रो हप्ता तिर यो झुण्ड मध्य प्रदेशको इन्डोर क्षेत्र तिर देखा पर्यो। भारतमा आएको अम्फान नामक चक्रवातका कारण सलहको झुण्ड उत्तर प्रदेश नजिकै नागोड भन्ने स्थानमा देखा पर्यो। गत शनिबार (असार १३ गते) तेज हावाको वहावका कारण उक्त झुण्ड केहि टुक्रिन गर्इ उत्तर प्रदेशको कुशिनगरमा पुगेको र केहि नेपालको तरार्इ जिल्लासम्म आइपुगेको पाइएको छ। उक्त प्रतिवेदनमा जनाइए अनुसार यसरी नेपाल प्रवेश गरेको झुण्ड सानो संख्यामा रहेको र आफैं तितरवितर भएर जाने हुनाले खासै क्षति नहुने आंकलन गरिएको छ। तर आगामी चार हप्ता सुडान, इथियोपिया, सोमालिया, पाकिस्तान र भारतजस्ता देशलार्इ भने उच्च सतर्कता अपनाउन भनिएको छ। साथै जुन महिना भर इरान र पाकिस्तान हुदैं थप सलहका झुण्डहरु राजस्थान प्रवेश गर्न सक्ने प्रक्षेपण समेत प्रतिवेदनले गरेको अवस्थामा हाल नेपाल प्रवेश गरेको झुण्डले बाली विरुवामा क्षति गरे/नगरे तापनि सचेत रहौं सबै पक्षबाट सलह रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्व तयारी गरौं ।

(संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मरुभूमि सलह अवस्था अपडेट 27 जुन 2020 र सोही संगठनकै मे 2020 को सलह कीरा सम्बन्धी बुलेटिनमा आधारित लेख)

https://samadhannews.com/news/2020/06/29/19753/?fbclid=IwAR1OyVw96iiJ4vrC3Py1UGWoYSi-ais656yamrmBMHPLORuH0vQAKsq-1-k#.XvmC8mNSaZM.facebook

No comments:

Post a Comment